माघ ८, जनकपुरधाम। — धनुषाधाम नगरपालिका–६ हरिपुरमा खेतमा लगाइएको विद्युतीय बारमा करेन्ट लागेर एक स्थानीय मजदुरको मृत्यु भएको छ।
जङ्गली जनावरबाट बाली जोगाउनका लागि खेत वरिपरि जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा करिब ५० वर्षीय चन्देश्वर महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही क्रममा एक बाँदरसमेत करेन्ट लागेर मरेको छ।
स्थानीयका अनुसार खेतबारीमा जङ्गली जनावरको क्षति रोक्न विद्युतीय बार लगाइएको थियो। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ। विद्युतीय बार कानुनी प्रक्रिया र सुरक्षा मापदण्ड विपरीत जडान गरिएको थियो वा थिएन भन्ने विषयमा समेत छानबिन भइरहेको बताइएको छ।

















