निर्वाचन आयोगद्वारा गगन थापा पक्षलाई मान्यता

माघ २, काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा गगन थापा पक्षलाई मान्यता दिने निर्णय गरेको छ। आयोगको निर्णयसँगै गगन थापा नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्।
निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह, झण्डा तथा सम्पूर्ण आधिकारिक अधिकारसमेत गगन थापा नेतृत्वको पक्षलाई प्रदान गरेको छ। यससँगै नेपाली कांग्रेसको वैधानिक प्रतिनिधित्व अब गगन थापा पक्षले गर्ने स्पष्ट भएको छ।
कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी नेतृत्व र विवरण अद्यावधिकको विषयलाई लिएर विवाद निर्वाचन आयोगमा पुगेको थियो। महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टी विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा दाबी पेश गरेको थियो।
निर्वाचन आयोगले कानुनी, सांगठनिक तथा प्रक्रियागत आधारमा दुवै पक्षका कागजात र तर्कहरू अध्ययन गरी गगन थापा नेतृत्वको पक्षलाई वैधानिक ठहर गरेको जनाएको छ। निर्णय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको छलफलपछि सार्वजनिक गरिएको हो।
निर्णयपछि देउवा पक्षले आयोगको फैसलाप्रति असहमति जनाउँदै कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने घोषणा गरेको छ। देउवा पक्षका नेताहरूले निर्णयको प्रतिलिपि अध्ययनपछि अदालत जाने तथा राजनीतिक रूपमा पनि संघर्ष जारी राख्ने बताएका छन्।
निर्वाचन आयोगको निर्णयसँगै लामो समयदेखि जारी नेपाली कांग्रेसको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। यसले नेपाली कांग्रेसको आन्तरिक संरचना मात्र होइन, आगामी राजनीतिक समीकरण र समग्र राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने विश्लेषण गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more