माघ २ , कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बिहीबार (१५ जनवरी २०२६) मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झालाई विशेष सम्मान गरिएको हो।
कार्यक्रम मधेशी एकता समाज कतारका अध्यक्ष अली हुसैन राइनको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि डा. झाले मन्तव्यका क्रममा मधेशको समग्र विकास, सामाजिक एकता र राजनीतिक स्थिरता बिना देशको दिगो प्रगति सम्भव नहुने स्पष्ट पारे। उनले मधेशका मुद्दामा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा मधेशी एकता समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजीव झा, एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थी तथा मधेशका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय उपाध्यक्ष झाले मधेशको विकास, अधिकार र राजनीतिक स्थायित्वका लागि सबै संघ–संस्थाहरूबीच सहकार्य र एकताको आवश्यकता औँल्याए।
कार्यक्रममा उपस्थित वक्ताहरूले मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक विकाससँगै राजनीतिक स्थिरता आजको प्रमुख आवश्यकता भएको बताउँदै आपसी सहकार्यलाई सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
संस्थाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र माघे संक्रान्ति पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पारे। मिडलिस्ट कोअर्डिनेटर अभय कुमार ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रमको सहजीकरण महासचिव चन्द्रवीर यादवले गरेका थिए। उनले मधेशको शिक्षा क्षेत्रप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षा बिना विकास सम्भव नहुने बताए। शिक्षा सुधारका लागि राज्य, राजनीतिक दल तथा सामाजिक संघ–संस्थाहरूले तत्काल जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमको औपचारिक सुरुआत ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रगान तथा दिवंगत आत्माप्रति एक मिनेट मौनधारणबाट गरिएको थियो। अतिथि, पदाधिकारी तथा मधेशी समुदायको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य र सफल भएको आयोजकले जनाएको छ।

















