पुस २४, काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको असन्तुष्टि र विशेष महाधिवेशनको मागलाई संवाद र सहमतिमार्फत समाधान गर्न सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन्। बुधबार सभापति देउवासँग भएको भेटमा कोइरालाले पदको विषयभन्दा पनि कांग्रेसको एकता जोगाउनु सबैभन्दा महत्वपूर्ण रहेको स्पष्ट पारेका छन्।
महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटमा शेखरले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको सन्दर्भ उल्लेख गर्दै सबै पक्षलाई सम्मान हुने गरी निकास खोज्न देउवाको ध्यानाकर्षण गराएका थिए। उनले पार्टी विभाजनको पीडा आफूले सहन नसक्ने भन्दै, विगतमा विभाजन भोगिसकेका देउवाले पनि यसको गम्भीरता बुझ्ने विश्वास व्यक्त गरे।
‘म कोइराला हुँ, पार्टी फुटेको हेर्न सक्दिन। विभाजनको पीडा तपाईंले पनि भोग्नुभएको छ। के–के गर्नुपर्छ गरौँ, तर पार्टी विभाजन रोकौँ,’ शेखरले देउवासँग भनेको बताइएको छ। उनले आफू भोलि कांग्रेसको सभापति बन्ने वा नबन्ने विषय गौण भएको र पार्टी सग्लो रहने कि नरहने भन्ने कुरा नै मुख्य विषय भएको स्पष्ट पारे।
कोइरालाले महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमै संकल्प सभाका रूपमा रूपान्तरण गरी सहमतिको वातावरण बनाउन सुझाव पनि दिएका छन्। विधानअनुसार समयमै महाधिवेशन हुनुपर्ने अडानमा आफू सधैँ स्पष्ट रहेको उल्लेख गर्दै, अहिलेको चुनावी चुनौती र आन्तरिक समस्याका बीच साझा मञ्च बनाएर एकता जोगाउन नेतृत्व तयार हुनुपर्ने उनको धारणा थियो।
सभापति देउवाले भने पछिल्लो परिस्थितिप्रति आफू पनि चिन्तित रहेको जनाउँदै सबैसँग संवाद गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, उनीहरूको कुरा सुन्न र समाधानका विकल्प खोज्न देउवामाथि निरन्तर दबाब दिने बताएका छन्।
यसैबीच, शेखर कोइरालाले आजै अपराह्न २ बजेपछि उपसभापति धनराज गुरुङ तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित पुनः सभापति देउवासँग थप छलफल गर्ने कार्यक्रम रहेको छ। कांग्रेसभित्र बढ्दो असन्तुष्टि र विशेष महाधिवेशनको मागबीच यो संवादलाई पार्टी एकता जोगाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
















