पुस ७, काठमाडौँ। बंगलादेशमा जिहादी समूहद्वारा हिन्दू युवा दीपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बंगलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको रक्षा गर”, “हिन्दूमाथिको हत्या बन्द गर” जस्ता नाराहरू लगाउँदै बंगलादेश सरकारको कडा आलोचना गरेका थिए। उनीहरूले “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बंगलादेश मुर्दावाद” तथा “बंगलादेश दूतावास खारेज गर” जस्ता नारासमेत घन्काएका थिए।
प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यक समुदायमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लङ्घन भएको बताए। उनले धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदाय अब मौन बस्न नहुने धारणा राखे।
त्यसैगरी, राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यक समुदायको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए। उनले हिन्दू समुदायमाथि लक्षित हिंसा राज्यको कमजोरी र संरक्षणबिना सम्भव नहुने दाबी गर्दै तत्काल सुरक्षाको ग्यारेन्टी नगरे अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्नुपर्ने बताए। साथै, उनले नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे।
प्रदर्शन शान्तिपूर्ण भए पनि केहीबेर वातावरण तनावपूर्ण बनेको थियो। यसक्रममा प्रदर्शनकारीहरूले बंगलादेश सरकार प्रमुख मोहम्मद युनुसको तस्वीर जलाएका थिए। उनीहरूले बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको हिंसा तुरुन्त रोक्न, दोषीलाई कडा कारबाही गर्न तथा अल्पसंख्यक समुदायको सुरक्षाको ठोस व्यवस्था गर्न माग गरेका छन्। राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।
















