निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराइन्छ : मन्त्री घिसिङ

पुस ७, काठमाडौ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने स्पष्ट जिकिर गरेका छन्।
मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको दाबी गरे। एक महिनाअघि सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीको रूपमा रुपान्तरण भई देशभर फैलिएको उनको भनाइ थियो।
“सत्तरी–असी वर्ष पुराना पार्टीहरूलाई परास्त गर्दै बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यस पार्टीले गरेको छ,” मन्त्री घिसिङले भने।
जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफू सहभागी हुने अवसर पाएको उल्लेख गर्दै उनले विगतका मन्त्रीहरूभन्दा फरक शैली र दृष्टिकोणबाट काम गरिरहेको बताए। जनताको अपेक्षा र आवश्यकता केन्द्रमा राखेर परिणाममुखी काम गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री घिसिङले राजनीतिक परिवर्तनका लागि नयाँ सोच, नेतृत्व र साहस आवश्यक रहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले त्यसको प्रतिनिधित्व गर्ने दाबी पनि गरे।

  • सम्बन्धित समाचारहरु

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    Read more

    सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

    Read more