पुस ७, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा, उत्पीडन र जबरजस्ती सम्पत्ति कब्जाका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेका छन्।
मुख्यमन्त्री यादवले भीडद्वारा गरिने हत्या (मब लिंचिङ), मौलिक अधिकारको निरन्तर उल्लंघन र अल्पसंख्यक समुदायलाई लक्षित आक्रमणले कानुनी शासनको गम्भीर कमजोरी मात्र नभई मानवता, न्याय र सभ्य समाजका आधारमाथि नै गहिरो चोट पुगेको बताएका छन्।
हालै बंगलादेशस्थित भारतीय दूतावासमाथि भएको आक्रमणको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसले त्यहाँको अन्तरिम सरकारको असफलता स्पष्ट रूपमा उजागर गरेको टिप्पणी गरेका छन्। उनले यस्तो अराजक र अस्थिर अवस्था बंगलादेशको आन्तरिक मामिलामा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि गम्भीर चुनौती बनेको बताएका छन्।
दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अपरिहार्य रहेकोमा जोड दिँदै मुख्यमन्त्री यादवले जनताको जनादेशबाट निर्वाचित सरकारले मात्र कानुनी शासन, समानता र सहअस्तित्वको बलियो आधार निर्माण गर्न सक्ने उल्लेख गरे।
राज्यको पहिलो र प्रमुख जिम्मेवारी आफ्ना नागरिकको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितता भएको बताउँदै उनले अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता र असुरक्षालाई अन्त्य गर्न राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित निकायहरूले संयुक्त, सक्रिय र पारदर्शी पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
लोकतान्त्रिक मूल्य, मानव अधिकार र न्यायको सम्मानबिनाको शान्ति दिगो नहुने स्पष्ट पार्दै मुख्यमन्त्री यादवले लोकतन्त्रकै बलमा दीर्घकालीन विकास र क्षेत्रीय स्थिरता सम्भव हुने धारणा व्यक्त गरे।
अन्त्यमा उनले सबै जिम्मेवार पक्षहरूलाई लोकतन्त्र, न्याय र मानवताको पक्षमा दृढ प्रतिबद्धता जनाउँदै समस्याको दिगो समाधानतर्फ अघि बढ्न आह्वान गरेका छन्।
















