मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिँदै

पुस ४, जनकपुरधाम।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। छ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले नियुक्तिको १५औँ दिनमा विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार छ दलका सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले आज सदनमा बहुमत प्रमाणित गर्नेछन्। सरकार गठनपछि सत्तारुढ दलहरूबीच भएको सहमतिअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो। यसै सन्दर्भमा गत सोमबार मधेश भवनमा बसेको सात दलको बैठकले विश्वासको मत लिने निर्णय गरेपछि मुख्यमन्त्री यादवले औपचारिक पत्र प्रदेशसभामा पठाएका थिए।

साधारण बहुमत आवश्यक भए पनि मुख्यमन्त्री यादवसँग दुई तिहाइभन्दा बढी समर्थन रहेको बताइएको छ। यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसके पनि नयाँ सरकारलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएकाले आजको मतदान लगभग सर्वसम्मत हुने अनुमान गरिएको छ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमालेका २५ सदस्य (१ निलम्बित), नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपाल १९ (१ निलम्बित), जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९ (१ निलम्बित), नेकपा एकीकृत समाजवादी ७ सदस्य रहेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जनही १–१ सदस्य छन्।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेपछि प्रदेश सरकारको स्थायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशको राजनीतिक स्थायित्व कायम गर्दै आगामी विकास योजना र नीतिहरू अघि बढाउन अनुकूल वातावरण तयार हुने नेताहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more