रास्वपाले सातै प्रदेशका इन्चार्जहरू पदमुक्त

मंसिर १०, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमार्फत सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। यसअघि सचिवालय सदस्यहरूले सम्हाल्दै आएको प्रदेश इन्चार्जको जिम्मेवारी अब केन्द्रीय सदस्यहरूले निर्वाह गर्ने व्यवस्था मिलाइने पार्टीले जनाएको छ, तर हालसम्म नयाँ इन्चार्जहरूको नाम तोकिएको छैन। गत वैशाखमा रास्वपाले कोशी प्रदेशमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकेको थियो, जसमध्ये सन्तोष परियार भने यसअघि नै पार्टी परित्याग गरिसकेका छन्। बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठनलाई सक्रिय, चुस्त र चुनावमुखी बनाउन पुनर्संरचना गरिएको दाबी गरेको छ। त्यसैगरी, पार्टीले सबै पालिकामा ‘Rapid Action Team (RAT)’ गठन गर्ने र यसका लागि प्रदेश तथा जिल्ला तहलाई आवश्यक निर्देशन दिने निर्णयसमेत गरेको छ, जसको उद्देश्य स्थानीय संरचनालाई गतिशील बनाई केन्द्र–प्रदेशबीच समन्वय सुदृढ गर्नु रहेको एक नेताले बताएका छन्। पार्टीले छिट्टै नयाँ प्रदेश इन्चार्जहरूको नाम सार्वजनिक गर्ने तयारी रहेको पनि बताएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more