राम कलेवासँगै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम, मंसिर १० गते। मिथिलाको महान् धार्मिक तथा सांस्कृतिक पर्व सीताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्य, सभ्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म आयोजित सप्ताहव्यापी उत्सवको समापन अन्तिम दिन राम कलेवा अनुष्ठानमार्फत गरिएको हो।

राम कलेवामा भगवान राम र माता सीतालाई विशेष मिथिला परिकारहरूको भोग अर्पण गरियो। पूजापाठ, भजन–कीर्तन र श्रद्धालुहरूको उपस्थितिले कार्यक्रम भावपूर्ण बनेको थियो। प्रसाद ग्रहण गर्न देश–विदेशबाट आएका भक्तजनहरूको भीड जानकी मन्दिर प्रांगणमा उत्साहका साथ देखियो।

सप्ताहभर तिलकोत्सव, फूलबारी लीला, धनुषयज्ञ, मटकोर, स्वयंवर, झाँकी प्रदर्शन, जन्ती स्वागत, सेना द्वारा पुष्पवृष्टि र सीताराम विवाह समारोहजस्ता विधिहरूले जनकपुर धार्मिक पर्यटकीय केन्द्रका रूपमा थप चम्कियो।

महोत्सवको समापन अवसरमा आयोजित समारोहमा सन्त–महन्त, स्थानीय जनप्रतिनिधि, संस्कृति प्रेमी तथा आम नागरिकले पर्वले सामाजिक एकता, धार्मिक आस्था र दाइजोमुक्त विवाह अभियानलाई ठूलो प्रेरणा दिएको बताए।

यस वर्षको महोत्सव सफलतापूर्वक सम्पन्न गर्न जानकी मन्दिर व्यवस्थापन, स्थानीय प्रशासन, सुरक्षाकर्मी, नेपाली सेना, स्वयंसेवक र सञ्चारकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको आयोजक पक्षले जनायो।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more