राम–सीताको स्वयम्बर जनकपुरधाममा भव्य रूपमा सम्पन्न

जनकपुरधाम, मंसिर ९ । मिथिलाको शान, सांस्कृतिक पहिचान र आस्थाको प्रतीकका रूपमा मनाइने महान् पर्व विवाहपञ्चमी अन्तर्गत आज जनकपुरधाममा भगवान् राम–सीताको वैदिक स्वयम्बर अत्यन्तै भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म भक्तजनको भीड, धार्मिक उत्साह र सांस्कृतिक झल्कोले जनकपुरधाम आज एकदमै कञ्चन भएकाे देखिन्थ्याे।

मुख्य कार्यक्रमको आकर्षणमा नेपाली सेनाद्वारा मन्दिर परिसर र रंगभूमि मैदान क्षेत्रमा गरिएको अभूतपूर्व पुष्पवृष्टिले वातावरण पूर्णतः दिव्य बनाएको थियो। सेनाको हेलिकप्टरबाट गरिएकाे पुष्प वर्षाले स्वयम्बर स्थलमा रहेका भक्तजन, साधुसन्त, व्रतालु महिलालगायत सबै सहभागीमाथि आनन्द, उल्लास र आध्यात्मिक ऊर्जा थपिदिएको थियो।

राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्किएको शोभायात्रामा बाजागाजा, धार्मिक झाँकी र दर्जनौँ सवारी साधन सहभागी थिए। उता जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्किएको डोला रंगभूमि मैदान पुगेपछि वैदिक विधिअनुसार स्वयम्बर प्रक्रिया सुरु भएको थियो।

रंगभूमि मैदानमा भगवान् रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरी मिथिला परम्परामा आधारित विधिबाट आजको स्वयम्बर सम्पन्न गरिएको हो। यो क्षण पुष्पवृष्टिले अझै सौन्दर्ययुक्त र आध्यात्मिक बनेको सहभागीहरूले बताए।

साँझपख जानकी मन्दिर परिसरमा राम–जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार विधिवत् रुपमा सम्पन्न गरिने तालिका बनाइएको छ। विवाहमा राम मन्दिरका महन्थ राम गिरीले राजा दशरथको भूमिका निर्वाह गर्ने भएका छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकका रूपमा रहने कार्यक्रम तय छ।

विवाह समारोहका लागि जानकी मन्दिर परिसर दुलहीझैँ सिङ्गारिएको छ। मन्दिर वरिपरि झिलिमिली बत्ती, फूलमाला, पारम्परिक सजावट तथा आकर्षक मण्डप निर्माण गरिएकाले जनकपुरधाम अहिले पूर्णतः उत्सवामय देखिन्छ।

महान् मिथिला संस्कृतिको धरोहर मानिने विवाहपञ्चमीको मुख्य दिन आजको स्वयम्बर सम्पन्नसँगै जनकपुरधाममा भक्तिभाव, उत्साह र आध्यात्मिक उल्लासको वातावरण थप व्यापक बनेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more