कार्तिक २४, काठमाडौ । ऊर्जा मन्त्री कुलमान घिसिङले आज नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ गठन गर्ने तयारी गरेका छन्। पार्टी दर्ताका लागि आवश्यक कागजातहरू आजै निर्वाचन आयोगमा बुझाइने र दर्ता प्रक्रिया सम्पन्न हुने बताइएको छ।
विश्वसनीय स्रोतका अनुसार नयाँ दलको नारा “एक व्यक्ति, एक पद” हुनेछ र यसको मुख्य उद्देश्य पारदर्शी, इमानदार र सेवामुखी राजनीति स्थापना गर्नु हो। कुलमान घिसिङलाई पार्टीले आगामी संघीय निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ।
पार्टीको अध्यक्षमा पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्याय रहने सम्भावना अत्यधिक रहेको स्रोतले जनाएको छ। उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीबारे अन्तिम निर्णय आजै हुने बताइएको छ।
नयाँ दलमा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरू पनि आवद्ध हुँदैछन्। सुमना, सागर र सुदनसहितका सामाजिक अभियन्ता तथा व्यवसायिक वर्गका प्रतिनिधिहरू प्रारम्भिक चरणमै पार्टीमा समावेश हुने पक्का भएको छ।
उक्त दलले सुशासन, जवाफदेहित र जनसेवामा आधारित नयाँ राजनीतिक संस्कृति विकास गर्ने लक्ष्य लिएको छ। पार्टीको घोषणासँगै कुलमान घिसिङले लामो समयदेखि जनतामा रहेको ‘शुद्ध र कार्यमुखी नेतृत्व’ को अभाव पूरा गर्ने संकेत दिएका छन्।
यता, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि उक्त दलप्रति समर्थन जनाउने तयारी गरेका छन्। यद्यपि, उनी प्रत्यक्ष रूपमा कुनै पदमा नबस्ने बताइएको छ। बालेनले जनसेवा पार्टीको अवधारणा “राजनीतिक शुद्धता र कार्यकुशलताको संयोजन” भएको भन्दै शुभकामना दिने तयारी गरेको स्रोतहरूले बताएका छन्।
पार्टीको नीति तथा संरचनासम्बन्धी अन्तिम मस्यौदा आज अपराह्न बस्ने केन्द्रीय समन्वय बैठकले तय गर्नेछ। बैठकमा पार्टीको केन्द्रीय समितिको आकार, नीति दस्तावेज, आचारसंहिता र आगामी निर्वाचन रणनीतिबारे छलफल हुनेछ।
राजनीतिक वृत्तमा कुलमान घिसिङको यो कदमलाई देशको नयाँ राजनीतिक विकल्पका रूपमा हेरिएको छ। उर्जा क्षेत्र सुधारको सफलताका कारण जनस्तरमा लोकप्रिय रहेका घिसिङले अब त्यो ‘सेवा भाव’ राजनीतिक क्षेत्रमा लैजाने प्रयास थालेका छन्।
पार्टी घोषणा समारोह आज साँझ काठमाडौँमा आयोजना हुने र त्यसपछि ‘जनसेवा पार्टी’को आधिकारिक वेबसाइट तथा घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको बुझिएको छ।
















