कार्तिक २१, सर्लहि । गोडैता नगरपालिका–१२ मधुवनीमा बिगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको जाँड, रक्सी र जुवा रहित मेला यस वर्ष पनि भव्य रूपमा आयोजना भएको छ। निजी लगानीमा सञ्चालन गरिएको मेलामा करिब सात हजारभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
मेलाको उद्घाटन गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न वार्डका वडा अध्यक्षहरु केशव कुमार यादव, बिजय प्रसाद यादव,राजाराम साह, मिरेन्द्र झा, मेयरका प्रत्यासी उम्मेदवार गजेन्द्र कुमार यादव, स्थानीय व्यापारी, कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मेलाको मुख्य आकर्षणमा “मला झण्डा” (अण्डाकार टावरमा नेपालको राष्ट्रिय झण्डा र नौ खण्डमा विभाजित विभिन्न रंगका झण्डा) को प्रदर्शन रहेको थियो। यस दृश्यले आगन्तुकहरूलाई आकर्षित गरेको थियो।
सांस्कृतिक विविधता झल्काउने यो मेला धार्मिक सद्भाव, भातृत्व र सकारात्मक सामाजिक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो। मेलामा साँझपख आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले मैथिली, भोजपुरी र नेपाली भाषाका गीत–संगीत प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
मेलाका आयोजक तथा वडा अध्यक्ष केशव कुमार यादवले भने, “यो मेला केवल मनोरञ्जनका लागि होइन, समाजमा सदाचार र अनुशासन फैलाउने माध्यम हो। हामीले यसलाई जाँड, रक्सी र जुवा मुक्त बनाएका छौं ताकि युवाहरूले सकारात्मक ऊर्जा प्राप्त गर्न सकून्।”
चार वर्षदेखि निरन्तर चल्दै आएको यस मेलाले अब स्थायी स्वरूप लिने तयारी भइरहेको बताइएको छ। आयोजक समितिले आगामी वर्ष मेला अझ भव्य रूपमा आयोजना गर्ने योजना समेत सार्वजनिक गरेको छ।
















