कार्तिक २०, मोरङ । मोरङ प्रहरीले एम्बुलेन्स प्रयोग गरी लागू औषध गाँजा ओसारपोसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना एम्बुलेन्स चालक रहेका छन्।
लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले कार्तिक १९ गते राति विशेष सूचनाको आधारमा जहदा गाउँपालिका–३ स्थित स.१ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार उक्त एम्बुलेन्सभित्र कालो झोलामा लुकाएर राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला परेको थियो। गाँजा बरामद भएपछि प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ निवासी ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र सोही घटनामा संलग्न को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक, जहदा गाउँपालिका–३ निवासी ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवैजनामाथि लागू औषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै बरामद गरिएको गाँजा र प्रयोगमा ल्याइएको एम्बुलेन्स तथा मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिइएको छ।
प्रहरीले लागू औषधको कारोबारमा अब स्वास्थ्य सेवा साधनहरू प्रयोग गर्नेलाई पनि कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ।
















