कार्तिक १९, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने भएका छन्। यस प्रयोजनका लागि प्रदेश सभाको बैठक आगामी २०८२ साल कात्तिक २२ गते (शनिवार) दिनको १:०० बजे बस्ने भएको छ।
प्रदेश सभाले जारी गरेको सूचनामा भनिएको छ कि उक्त बैठक विश्वासको मतसम्बन्धी कार्यसूचीका लागि बोलाइएको हो। बैठकमा प्रदेशसभा सदस्यहरू सबैलाई उपस्थित रहन अनुरोध गरिएको छ।
संविधानको धारा १६८(४) अनुसार मुख्यमन्त्रीले सभामा बहुमत सदस्यहरूको समर्थनको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ। हालको राजनीतिक परिस्थितिमा मधेश प्रदेशमा सत्ता समीकरणमा परिवर्तनको सम्भावना रहेका बेला यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि प्रदेशको राजनीतिक दलहरूबीच समर्थन र विपक्षका विषयमा चलिरहेको छलफलबीच मुख्यमन्त्रीले सभाबाट प्रत्यक्ष विश्वासको मत लिने तयारी गरेका हुन्। बैठकमा विश्वासको मतप्रति दलहरूको धारणा प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्ने मुख्य कारक हुने अनुमान गरिएको छ।



















