जनकपुरधाम, १८ कार्तिक। मैथिली साहित्यका महाकवि तथा कविकोकिल विद्यापतिको स्मृति दिवस जनकपुरधाममा विविध सांस्कृतिक र साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। विद्यापति चोकमा आयोजित मुख्य समारोहमा स्थानीय बुद्धिजीवी, साहित्यकार, राजनीतिज्ञ र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
समारोहका वक्ताहरूले विद्यापतिको रचनात्मक योगदान, भाषिक समृद्धि र सांस्कृतिक गौरवलाई स्मरण गर्दै मैथिली भाषाको संरक्षण, प्रवर्द्धन र व्यवहारिक प्रयोगमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विद्यापतिको कृतिहरू कालजयी रहेको उल्लेख गर्दै भने, “विद्यापति एउटा यस्तो नाम हो जसलाई विभिन्न भाषाका साहित्यकारहरूले आफ्नै भाषाका महाकविको रूपमा सम्मान गरेका छन्।” उनले विद्यापतिप्रतिको साँचो श्रद्धाञ्जली भनेको मैथिली भाषालाई रोजगारीसँग जोड्ने प्रयास रहेको उल्लेख गर्दै प्रदेश सरकारले यस दिशामा ठोस नीति बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विद्यापतिको साहित्यलाई विश्व साहित्यको धरोहरका रूपमा स्मरण गर्दै भने, “विद्यापति शिवका परम भक्त हुनुहुन्थ्यो, उहाँको परिनिर्वाण कार्तिक धवल त्रयोदशीका दिन भएको तथ्य आफैंमा सांस्कृतिक महत्व बोकेको छ।” उनले विद्यापतिको प्रसिद्ध पंक्ति ‘देशिल वयना सवजन मिठा’ उद्धृत गर्दै त्यसले मानवता, प्रेम र सामाजिक सद्भावको गहिरो सन्देश दिन्छ भन्ने कुरा जोड दिए।
निवर्तमान प्रदेशसभा सदस्य परमेश्वर साहले मैथिली भाषाको विकासलाई व्यवहारिक र आर्थिक जीवनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रदेश सरकारले मैथिलीलाई कामकाजको भाषा बनाउने निर्णय गर्नुपर्ने माग पनि गरे।
कार्यक्रम विद्यापति स्मृति पर्व समितिका अध्यक्ष त्रिदेव मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यापति ट्रस्टका पूर्वअध्यक्ष चन्द्रमोहन चौधरी, जिउँदो शहीद रामानन्द चौधरी, लोसपाका प्रवक्ता डा. आभास लाभ, प्राध्यापक अवधेश चौधरीलगायतका वक्ताहरूले विद्यापतिको जीवन, दर्शन र योगदानबारे मन्तव्य व्यक्त गरे।
स्मृति पर्वमा कवितापाठ, सांस्कृतिक प्रस्तुति, र विद्यापति साहित्यका अंश वाचनजस्ता कार्यक्रमले जनकपुरधामलाई दिनभर साहित्यिक वातावरणमा रूपान्तरण गर्यो। सहभागीहरूले विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा र संस्कृति प्रति सम्मान र गर्व व्यक्त गरे।
















