पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

कार्तिक १२, काठमाडौ ।  सरकारको निर्णय अनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरिएको छ।गृह मन्त्रालयका स्रोतका अनुसार नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रदान गरिएको १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीसहितका सम्पूर्ण सुरक्षा व्यवस्थापन हटाइएको हो।

मन्त्रीस्तरीय स्रोतले जानकारी दिँदै भनेको छ, “नेपालमाथि पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको अभियोग लागेको कारण उहाँलाई दिइएका सबै सुरक्षा सुविधा कटौती गरिएको हो।”

स्रोतका अनुसार, यदि नेपालले सुरक्षा चुनौती देखाउँदै निवेदन दिए भने सरकारले परिस्थितिअनुसार पुनः सुरक्षा उपलब्ध गराउन सक्ने व्यवस्था राखिएको छ।

हालै विशेष अदालतले पतञ्जलि प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपछि नेपाल ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको थियो।

यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मापदण्डविपरीत प्रयोग गरेका सुरक्षाकर्मी फिर्ता लिएको थियो।सरकारको पछिल्लो कदमले पूर्वप्रधानमन्त्रीहरूलाई दिइने विशेष सुविधा र सुरक्षाको मापदण्ड पुनः परिभाषित गर्न खोजिएको संकेत गरेको देखिन्छ।

स्रोतका अनुसार, सरकारले अबदेखि भ्रष्टाचार वा कानूनी अभियोग भोगिरहेका व्यक्तिहरूलाई पूर्वपदको नाममा दिइने विशेष सुविधा र सुरक्षामा कटौती गर्ने नीति अवलम्बन गर्ने तयारी गरिरहेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more