सप्तरीमा मन्दिरका पुजारीमाथि गोली प्रहार गरी हत्या, आरोपी फरार

कार्तिक २, सप्तरी । सप्तरीमा एक मन्दिरका पुजारीमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको छ। बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहलाई गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ।

प्रहरी प्रवक्ता डिएसपी डम्बर पुरीका अनुसार साहमाथि शनिबार राति गोली प्रहार भएको हो। उनी आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट दुई गोली हानिएको थियो। गोली नाभी नजिक ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

घटनापछि प्रहरी निरीक्षकको कमान्डमा पुगेको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीको भनाइ छ।

गोली प्रहार गर्ने व्यक्ति हालसम्म फरार रहेको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोनाबाट अतिरिक्त प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि निगरानी र चेकजाँच कडाइ गरेको जनाएको छ। साथै, घटनाको वास्तविक कारण पत्ता लगाउन स्थानीयहरूबाट बयान संकलन र सीसीटीभी फुटेज जाँच कार्य पनि सुरु गरिएको छ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

स्थानीय बासिन्दाहरूले धार्मिक स्थलका पुजारीमाथि गोली प्रहारजस्तो घटना भयावह भएको भन्दै अपराधीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

प्रहरीले घटनाको प्रकृति हेर्दा यो पूर्व नियोजित हत्या हुन सक्ने अनुमान गरेको छ र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more