पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराममा सहमत, कतरको मध्यस्थतामा वार्ता सफल

कार्तिक २, कतर । पाकिस्तान र अफगानिस्तानबीच जारी सीमा तनाव अन्त्यका लागि भएको वार्ताले ठोस परिणाम दिएको छ। दुवै देश तत्काल युद्धविराम (Ceasefire) लागू गर्न सहमत भएका छन्।

कतरको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दोहामा सम्पन्न उच्चस्तरीय वार्तामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूले सीमा क्षेत्रमा बढ्दो तनाव कम गर्ने र स्थायी शान्ति सुनिश्चित गर्न सहकार्य बढाउने निर्णय गरेका छन्।

कतरले दुबै पक्षलाई वार्ता टेबलमा ल्याई संवादमार्फत विवाद समाधान गर्न उत्प्रेरित गरेको थियो। वार्तामा दुबै देशका सुरक्षासम्बन्धी अधिकारीहरू र कूटनीतिज्ञहरूको उपस्थिति रहेको जनाइएको छ।

कतरको विदेश मन्त्रालयले जनाएको छ, “पाकिस्तान र अफगानिस्तान दुबै पक्षले तत्काल प्रभावले युद्धविराममा सहमति जनाएका छन्। अब सीमा क्षेत्रमा शान्ति, स्थिरता र विश्वासको वातावरण कायम राख्न संयुक्त प्रयास हुनेछ।”

हालैका महिनाहरूमा पाकिस्तान–अफगानिस्तान सीमामा बारम्बार सशस्त्र झडप र गोली हानाहानका घटनाले दुवै देशबीचको सम्बन्धमा तनाव पैदा गरेको थियो। विशेषगरी तोरखम र चमन नाकामा भएको भिडन्तका कारण सीमावर्ती बस्तीहरूमा असुरक्षा बढेको थियो।

विश्लेषकहरूले यो युद्धविरामलाई क्षेत्रीय स्थायित्वतर्फको सकारात्मक संकेत मानेका छन्। कतरले पनि शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न तयार रहेको जनाएको छ।

यस समझदारीपछि अब दुबै देशका अधिकारीहरूले सीमा सुरक्षाबारे संयुक्त संयन्त्र गठन गर्ने तयारी गरिरहेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more