असोज ३०, काठमाडौ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी थालेको छ। प्रधानमन्त्री कार्कीले मंगलबार साँझ आफ्ना निकट सहयोगीहरूसँग विशेष छलफल गर्दै राजदूत फिर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतले जानकारी दिएका छन्।
स्रोतका अनुसार, सरकारले भारतसहित एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने गृहकार्य गरिरहेको छ। उक्त सूचीमा चीन, अमेरिका, इजरायल र जापानका राजदूतहरू समेत पर्ने अनुमान गरिएको छ।
सरकारी स्रोतका भनाइअनुसार, राजनीतिक सिफारिसका आधारमा विभिन्न मुलुकहरूमा पठाइएका राजदूतहरूको कार्यशैलीमा निरन्तर विवाद र असन्तुष्टि देखिँदै आएकोले राजनीतिक भागबन्डा अन्त्य गर्दै योग्य र निष्पक्ष व्यक्तिलाई राजदूतमा पठाउने तयारी सरकारले गरेको हो।
हालका तथ्यांकअनुसार, १७ देशमा राजनीतिक सिफारिसका आधारमा नियुक्त राजदूतहरू कार्यरत छन्। आगामी मन्त्रिपरिषद् बैठकले सो सम्बन्धी आधिकारिक निर्णय गर्ने सम्भावना उच्च रहेको बताइएको छ।
प्रधानमन्त्री कार्कीले राजनीतिक स्वार्थका कारण विदेशमा नेपालको छवि कमजोर भएको र कूटनीतिक संस्थाहरूमा सुधार आवश्यक रहेको बताउँदै नयाँ नियुक्ति प्रणालीमा पारदर्शिता र योग्यता आधारित चयन प्रक्रिया अघि बढाउने संकेत गरेकी छन्। यसबीच, केही स्रोतहरूले सरकारले विदेशस्थित नेपाली दूतावासहरूको कार्यक्षमता पुनरावलोकन गर्न पनि तयारी गरिरहेको जनाएका छन्।
















