महेश बस्नेतको आरोप : “जेन–जी सरकारले मिडिया ट्रायलमार्फत गिरफ्तार गर्ने तयारी गरिरहेको छ”

असोज १३, काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी सरकारमाथि आफूलाई लक्षित गर्दै मिडिया ट्रायल चलाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले आफ्नो गिरफ्तारीको तयारी भइरहेको दाबी गर्दै वर्तमान सरकारको कदमलाई अलोकतान्त्रिक र अमानवीय करार गरेका छन्।

बस्नेतले लेखेका छन्, “वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ। मैले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका लागि विदेशी दलालहरूको प्रयासको विरुद्ध आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ। तर मैले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको छु र मेरो अन्तिम साससम्म त्यसै पक्षमा बोलिरहनेछु।”

उनले सरकारप्रति आक्रोश पोख्दै छोटो अवधिका लागि बनेको यो सरकार अलोकतान्त्रिक गतिविधिमा उत्रिएको टिप्पणी गरेका छन्। बस्नेतका अनुसार, एमाले अध्यक्षको निवास व्यवस्थापनदेखि सार्वजनिक कार्यक्रम र सचिवालय बैठकसम्म आफ्नो सक्रिय भूमिका देखेर सरकार त्रसित भएको छ।

बस्नेतले भने, “मेरो दायित्वबाट मलाई कसैले पन्छाउन सक्दैन। यो असंवैधानिक सरकार मेरो राजनीतिक प्रतिबद्धता र जनप्रतिबद्धतासँग डराएको छ।”

साथै उनले आफ्नो ज्यानको सुरक्षा चुनौतीमा परेको दाबी गर्दै सत्य, राष्ट्रियता र जनताको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता दोहोर्याएका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more