असोज ६,जनकपुरधाम । – नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि औपचारिक रूपमा सुरु भएको छ। दशैंको प्रारम्भसँगै आज देशभर घटस्थापना गरी माता शैलपुत्रीको विशेष पूजा अर्चना गरिदै छ।
बिहानै उपयुक्त साइतमा पुरोहित तथा घरघरका सदस्यहरूले घटस्थापना गर्ने परम्परा अनुसार पूजाघर वा देवकोठामा माटो ल्याई घटमा जमरा रोपिएको छ। धार्मिक विश्वासअनुसार यो जमराले देवी शक्तिको प्रतीकात्मक प्रतिनिधित्व गर्छ र दशैंको मुख्य दिन टिकाको बेलामा प्रयोग गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ। शैलपुत्रीलाई हिमालयकी कन्या र देवी दुर्गाको पहिलो अवतारका रूपमा पूजिन्छ। उनीलाई शक्ति, साहस र दृढताको देवी मानिन्छ। भक्तजनहरूले आज उपवास बसेर र घरमा विधिपूर्वक पूजा गरेर दुर्गा माताको कृपा प्राप्त हुने विश्वास राखेका छन्।
आजैदेखि जनकपुरधामका प्रमुख देवीस्थानहररु राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना माइ मन्दिर, बिधापती चौक दुर्गा मन्दिर लगायतमा भक्तजनहरूको भीड देखिएको छ। यस अवसरमा घरघरमा शुद्धता, अनुशासन र श्रद्धासहित देवीको पूजा आराधना गरिएको छ। दशैंको नवरात्रभर प्रत्येक दिन फरक–फरक देवीको आराधना गर्ने परम्परा छ, जसमा आज पहिलो दिन शैलपुत्रीको विशेष पूजा गरी विजयादशमीको शुभारम्भ गरिएको हो।
दशैंलाई परिवारभित्र एकता, मेलमिलाप र आशीर्वादको पर्वका रूपमा लिइन्छ। घटस्थापनासँगै घरघरमा उत्साह र उमंग बढेको छ भने बजारहरूमा पूजासामग्री खरिद गर्ने भीड पनि बाक्लो देखिएको छ।यसरी आजको दिनले देशभर औपचारिक रूपमा महान् पर्व दशैंको सुरुवात गराएको छ।



















