जिल्ला प्रशासन कार्यालय धनुषाले भोलीदेखि सेवा सुचारु गर्ने, राहदानी र परिचयपत्र भने अनिश्चितकालका लागि बन्द

भदौ २८, जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी आइतबार (भोलिदेखि) सेवा सुचारु गर्ने भएको छ। हालैको जेन–जी आन्दोलनका कारण अंशतः बन्द रहेको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आइतबारदेखि शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा दर्ता तथा मधेशी प्रमाणित, प्रतिलिपि, सिफारिससहितका सेवाहरू सामान्यरूपमा चल्ने जानकारी दिएका छन्। तर, राहदानी वितरण तथा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सम्पूर्ण कार्य अनिश्चितकालका लागि स्थगित हुने उनले बताए।

गत मंगलबारको जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालय र नेताहरूको निवासमा आगजनी गर्दा जिल्ला प्रशासन कार्यालय धनुषा समेत क्षतिग्रस्त भएको थियो। तोडफोड र आगजनीका कारण सेवा प्रवाह प्रभावित हुँदा सेवाग्राहीहरू समस्या झेलिरहेका थिए।

प्रशासनले सेवाहरू पुनः सुचारु गर्ने निर्णयले लामो समयदेखि रोकिएका प्रशासनिक कार्य सहज हुने अपेक्षा गरिएको छ। तर, राहदानी र राष्ट्रिय परिचयपत्र कार्य अझै ठप्प रहने भएपछि ती सेवाका लागि सर्वसाधारणले थप पर्खाइ गर्नुपर्ने भएको छ।

 

  • सम्बन्धित समाचारहरु

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more

    गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    Read more