श्रावण २७,नयाँदिल्ली। चीनले आफ्नो विस्तारवादी नीतिलाई आक्रामक रूपमा अघि बढाउँदै हिन्द महासागर क्षेत्रमा उपस्थिती बढाइरहेको छ। चीनको यो सक्रियताले भारतमा सुरक्षा चिन्ता बढाएको छ।विदेश मामिलासम्बन्धी संसदीय समितिले चेतावनी दिँदै चीन निरन्तर आफ्नो नौसैनिक शक्ति सुदृढ पारिरहेको र चीन–पाकिस्तानको नौसैनिक गठजोडले भारतको रणनीतिक सुरक्षामा थप चुनौती खडा गरेको जनाएको छ।
कांग्रेस सांसद शशि थरूरको नेतृत्वमा रहेको ३१ सदस्यीय समितिले भारत सरकारलाई सैन्य क्षमता अझ मजबुत बनाउन र रणनीतिक सन्तुलन कायम राख्न साझेदार मुलुकहरूसँग संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिन सुझाव दिएको छ। समितिको भनाइमा हिन्द महासागर क्षेत्रमा भारतको नेतृत्व उसकै भू–राजनीतिक र आर्थिक हितको स्वाभाविक र आवश्यक विस्तार हो, र यो भारतको वैश्विक रणनीतिक दृष्टिकोणको अभिन्न अंश हो।समितिले विशेष गरी हिन्द–प्रशान्त क्षेत्रमा उदीयमान खतरा सामना गर्न भारतले पनडुब्बी–रोधी युद्धपोत, निगरानी विमान र आणविक ऊर्जाले सञ्चालित पनडुब्बीहरू सहितको आधुनिक नौसैनिक शक्ति विकास गर्न आवश्यक रहेकोमा जोड दिएको छ।
गत हप्तामात्र भारतले दक्षिण चीन सागरमा फिलिपिन्ससँग पहिलो संयुक्त नौसैनिक अभ्यास सम्पन्न गरेको थियो, जसको उद्देश्य हिन्द–प्रशान्त क्षेत्रमा समुद्री साझेदारीलाई मजबुत बनाउनु रहेको बताइएको छ।
















