साउन ४, काठमाडौ । बिजि न्युज रिपोर्टर — मधेश प्रदेशको सत्ता समीकरण फेरबदलको संकेत देखिँदैछ। नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णा प्रसाद यादवले आफूलाई मुख्यमन्त्री बनाउने योजनासहित स्वतन्त्र सांसद अमरेश कुमार सिंहसँग गोप्य भेटवार्ता गरेका छन्।
यादव र सिंहबीच काठमाडौंको भैंसेपाटीस्थित एक निजी निवासमा करिब डेढ घण्टा लामो भेटवार्ता भएको कुरा बाहिर आएको छ।यस गोप्य छलफलमा मधेश प्रदेशको वर्तमान राजनीतिक अवस्था, सरकार परिवर्तनको सम्भावना र भावी सत्ता समीकरणको खाका विषयमा गम्भीर छलफल भएको बताइएको छ।
भेटका क्रममा कृष्णा यादवले अमरेश सिंहसँग “मलाई मुख्यमन्त्री बन्न सहयोग गर्नुहोस्” भन्ने आग्रह गरेका थिए। स्रोतका अनुसार यादवले वर्तमान गठबन्धन कमजोर, अस्थिर र जनविरोधी भएको भन्दै वैकल्पिक सत्ता निर्माणको औचित्य प्रस्तुत गरे। तर अमरेश सिंहले भने तत्काल कुनै स्पष्ट प्रतिबद्धता जनाएनन्।
हाल मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित गठबन्धन सरकारले काम गरिरहेको छ। जनमतबाट निर्वाचित सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर कृष्णा यादव असन्तुष्ट रहदै आएका छन ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “यादव र सिंहबीचको भेट सादा कूटनीतिक भेट मात्र होइन। यो सत्ता परिवर्तनको सम्भावित संकेत हो। मधेशमा सत्ता समीकरण फेरिने अवस्था अब टाढा छैन।”
प्रदेशसभामा प्रमुख दलहरूबीच आपसी अविश्वास बढ्दै गएको छ। कांग्रेसभित्र नै नेतृत्वको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने जनमत र लोसपाबीचको तालमेलमा पनि चिसोपना देखिन्छ। यस्तो अवस्थामा कृष्णा यादवको वैकल्पिक गठबन्धन बनाउने प्रयासले नयाँ राजनीतिक तरंग ल्याएको छ।
प्रदेशसभामा शक्ति सन्तुलन यथार्थमा हेर्ने हो भने, यदि कांग्रेस, स्वतन्त्र, र केही असन्तुष्ट सांसदहरू एकै ठाउँ आउँछन् भने सरकार फेरबदल असम्भव छैन।
कृष्णा यादवको मुख्यमन्त्री बन्ने आकांक्षा अब लुकेको विषय रहेन। अमरेश सिंहसँगको गोप्य भेट यही राजनीतिक चाहनाको एक स्पष्ट संकेत हो। यद्यपि अमरेश सिंहले सावधानीपूर्वक प्रतिक्रिया दिएका छन्, उनी कुन मोडमा जान्छन् भन्ने कुराले मधेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ।
















