२९ असार, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएकाहरु नफर्किएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज सफलले आज आयोगमा उजुरी दर्ता गराएका हुन् ।
गत असार १६ गतेदेखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।
विभिन्न देशका राष्ट्र प्रमुख, विश्व तथा क्षेत्रीय संघसंस्था, संयुक्त राष्ट्र संघ प्रणालीका पदाधिकारी तथा मुलुककै प्रधानमन्त्रीजस्तो व्यक्ति सहभागी कार्यक्रममा मानव तस्करहरुले लाखौं रकम असुलेर नेपाली तस्करी गरी विदेश लैजानुले सिंगो देशको बेइज्जती भएको उजुरकर्ताको भनाइ छ ।
मानव तस्करी प्रकरणमै समातिएका कोशी प्रदेशका तत्कालिन आन्तरिक तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई जसरी प्रधानमन्त्री ओलीलाई पनि तत्काल पक्रेर कारबाही अघि बढाउनुपर्ने माग छ ।
‘यो उजुरीलाई प्राथमिकताको साथ अनुसन्धान गरी यस प्रकरणमा प्रधानमन्त्रीको संलग्नता के कति छ वा छैन ? छ भने कसरी छ ? छैन भने कसरी छैन ? यति धेरै संख्यामा मानव तस्करी हुँदा प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने हो वा हैन ? कतै प्रधानमन्त्रीकै संलग्नतामा त यो भइराखेको छैन ? वा उहाँलाई गुमराहमा पारेर मानव तस्करी भएको हो ? यसको जवाफ सिंगो नेपाल र नेपाली नागरिकले खोजी रहेका छन् । अतः यस प्रकरणलाई छिटोछरितो तरिकाले अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न यो उजुरी पेश गर्दछु,’ युवराज सफलले भनेका छन् ।



















