२ असोज,काठमाडौ । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको हो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतमा सिफारिस गरेको छ।
त्यस्तै, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिग्यानकुमार थापा, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन प्रस्तावित नामहरू संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएमा राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ।
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
यसैगरी, सरकारले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।


















