२ असोज , रौतहट । प्रेमचन्द्र झा– गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको नेपाली नगद रकमसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा सशस्त्र प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गरेको थियो।
भन्सार सुरक्षा गार्डबाट प्रबनानि दीपककुमार यादवको कमान्डमा खटिएको ३ जना तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सप्रनाउ दुर्गाप्रसाद भट्टको कमान्डमा खटिएको ७ जनाको संयुक्त टोलीले BR 06 AR 0802 नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा बस्ने अन्दाजी २६ वर्षीय संजिव पण्डित र सोही स्थानका अन्दाजी १८ वर्षीय रितिक दासको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २ लाख ५४ हजार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी उनीहरूको साथबाट चाँदीजस्तो देखिने दुई थान पायल र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।
बरामद नगद, सामान तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएको नगदको स्रोत, चाँदीजस्तो देखिने पायलको प्रकृति तथा उनीहरू भारतबाट उक्त रकम र सामान लिएर नेपाल प्रवेश गर्नुको उद्देश्यबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।


















