काजमा रहेका पाँच विशेषज्ञ चिकित्सक गौर अस्पताल फर्किए

२ असोज , रौतहट । प्रेमचन्द झा— प्रादेशिक अस्पताल गौरमा दरबन्दी कायम रहे पनि लामो समयदेखि अन्यत्र काजमा रहेका पाँच जना विशेषज्ञ चिकित्सक आफ्नो दरबन्दीमा फर्किएका छन् । अस्पताल स्रोतका अनुसार बालरोग, एनेस्थेसिया, रेडियोलोजी, मानसिक रोग र मेडिसिनतर्फका विशेषज्ञ चिकित्सक यसै साता प्रादेशिक अस्पताल गौरमा हाजिर भएका हुन् ।
दरबन्दीअनुसारको चिकित्सकीय जनशक्ति अन्यत्र काजमा रहँदा प्रादेशिक अस्पताल गौरमा आउने बिरामीले विशेषज्ञ सेवा सहज रूपमा पाउन सकेका थिएनन् । अस्पताल स्रोतका अनुसार यी चिकित्सकमध्ये केही एक वर्षभन्दा लामो समयदेखि आफूलाई अनुकूल हुने स्थानमा काजमा कार्यरत थिए । विशेषज्ञ चिकित्सकको दरबन्दी गौरमै रहे पनि उनीहरू अन्यत्र हुँदा अस्पतालको सेवा प्रभावित हुँदै आएको थियो ।
प्रदेश सरकारले दरबन्दी कायम रहेको अस्पतालमा चिकित्सकलाई अनिवार्य रूपमा फर्काउने विषयमा कडाइ गरेपछि पाँचै जना विशेषज्ञ चिकित्सक गौर फर्किएका हुन् । उनीहरू अस्पतालमा हाजिर भएसँगै विशेषज्ञ सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।
तर, चिकित्सकहरू दरबन्दीमा फर्किएपछि नियमित रूपमा गौरमै बसेर सेवा दिन्छन् कि पुनः काज मिलाएर अन्यत्र जानेछन् भन्ने विषयमा भने अस्पतालका सेवाग्राहीमा आशंका कायमै छ । विगतमा दरबन्दी एउटा अस्पतालमा राखेर लामो समय अन्यत्र काजमा बस्ने प्रवृत्तिका कारण सरकारी अस्पतालको सेवा प्रभावित हुँदै आएको भन्दै सेवाग्राहीले चिकित्सकलाई सम्बन्धित दरबन्दीमै राख्नुपर्ने माग गरेका छन् ।
‘फर्किएका पाँचै जना विशेषज्ञ चिकित्सक नियमित रूपमा गौरमै बसेर जिम्मेवारीअनुसार सेवा दिन थाले अस्पतालको सेवा थप प्रभावकारी हुन्छ,’ एक सेवाग्राहीले भने, ‘दरबन्दीमा फर्काउने निर्णय कार्यान्वयनमै सीमित नभई चिकित्सकलाई यहीँ बसेर सेवा दिने वातावरण बनाउनुपर्छ ।’
कुनै समय ‘रेफर सेन्टर’को उपनामले चिनिएको प्रादेशिक अस्पताल गौरले पछिल्ला वर्षमा सेवा विस्तार र व्यवस्थापन सुधार गर्दै सर्वसाधारणको विश्वास पुनः आर्जन गर्ने प्रयास गरिरहेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको नियमित उपस्थितिले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पताल प्रशासनको अपेक्षा छ ।
बालरोग, एनेस्थेसिया, रेडियोलोजी, मानसिक रोग र मेडिसिनजस्ता महत्वपूर्ण सेवामा विशेषज्ञ चिकित्सक उपलब्ध भएपछि अस्पतालमा आउने बिरामीले प्रत्यक्ष लाभ पाउने सेवाग्राहीको भनाइ छ । विशेषगरी जटिल प्रकृतिका बिरामीको प्रारम्भिक परीक्षण, उपचार तथा आवश्यक परे मात्रै अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकको नियमित उपस्थिति महत्वपूर्ण हुने उनीहरू बताउँछन् ।
अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक अन्यत्र काजमा रहने अवस्था अन्त्य गरी सम्बन्धित दरबन्दीमै नियमित सेवा दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्दै आएको छ । अब गौर फर्किएका पाँचै जना चिकित्सकले नियमित सेवा सुरु गरेमा प्रादेशिक अस्पतालको विशेषज्ञ सेवा थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more