१ असोज, काठमाडौ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट पक्षले राखेका मागहरू सम्बोधन भइसकेको दाबी गर्दै सबैलाई आगामी महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्णबहादुर खड्काले राखेका ८ बुँदे र शेखर कोइरालाले अघि सारेका ५ बुँदे माग सम्बोधन भइसकेको बताएका हुन्।
पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूले सक्ने सबै प्रयास गर्न तयार रहेको उल्लेख गर्दै थापाले पूर्वपदाधिकारी तथा असन्तुष्ट पक्षका नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।
सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी वडा अधिवेशनमा सहभागी हुन आग्रह गर्दै उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने बताए।
‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ । उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ,’ थापाले भने।
कांग्रेसको विधानअनुसार देउवा अब सभापति बन्ने अवस्थामा नरहेको उल्लेख गर्दै थापाले नेतृत्व हस्तान्तरणको प्रक्रियामा सबैको सहभागिता आवश्यक रहेको बताए।
‘यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो,’ थापाले भने।
पार्टीभित्र रहेका असन्तुष्टि र मागहरू सम्बोधन भइसकेकाले अब सबै पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुनुपर्नेमा थापाले जोड दिए। उनले पूर्वपदाधिकारीहरूलाई समेत अधिवेशनमा सहभागी भएर कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरेका छन्।


















