१ असोज, महोत्तरी । औरही नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरी गालीगलौज, हातपात तथा कार्यालयमा तोडफोड गरेको घटनाप्रति विभिन्न राजनीतिक दल तथा उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, जनमत पार्टी र उद्योग वाणिज्य संघ औरहीले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी निष्पक्ष छानबिनसहित कानुनी कारबाही गर्न माग गरेका हुन्।
विज्ञप्तिअनुसार २०८३ भदौ ३१ गते बिहान करिब ११ः३० बजे औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा केही व्यक्तिहरूको समूह प्रवेश गरी गालीगलौज, हातपात तथा कार्यालयमा तोडफोड गरेको र कर्मचारीमाथि समेत कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।
वडा नम्बर ५ का किसानहरूलाई सिँचाइ प्रयोजनका लागि ट्रान्सफर्मर स्थापना गर्ने विषयमा स्थानीयस्तरमा देखिएको मतभेद र छलफलका क्रममा घटना भएको विज्ञप्तिमा उल्लेख छ। नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरी जनप्रतिनिधिमाथि हातपात, कार्यालयमा तोडफोड तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु गम्भीर घटना भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी निष्पक्ष छानबिन गर्न तथा प्रचलित कानुनबमोजिम कडा र प्रभावकारी कानुनी कारबाही गर्न सुरक्षा निकाय र प्रशासनसमक्ष माग गरिएको छ।
त्यस्तै, घटनामा संलग्न दोषीमाथि तत्काल आवश्यक कानुनी कारबाही अघि बढाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई चेतावनीसहित आग्रह गरिएको छ।
संयुक्त विज्ञप्तिमा राजनीतिक दलहरूले विवाद तथा असहमतिलाई संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक कार्यालयको मर्यादा, जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षा र कानुनी शासनमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।


















