१ असोज, जनकपुरधाम । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सामुदायिक परिवार कल्याण संघ (CFWA) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ८० हजार १०० रुपैयाँ सहयोग गरेको छ।
संघमा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो ५ दिनको तलब स्वेच्छिक रूपमा योगदान गरी उक्त रकम संकलन गरेका हुन्। संकलित रकम बाढी प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै CFWA ले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, संघले बाढीका कारण प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा विस्थापित नागरिकहरूको उद्धार र पुनःस्थापनाका लागि सबै सम्बन्धित निकाय, संघ–संस्था तथा आम नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।



















